पृथ्वीभन्दा बाहिर अन्य ग्रहका जीव जन्तुहरूबारे अध्ययन गर्न वैज्ञानिकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विधि तयार पारेका छन् ।एस्ट्रोबायोलोजी अर्थात् अन्य ग्रहमा पाइने जीवनको खोजमा आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी वैज्ञानिकहरूले यो नयाँ विधि विकास गरेका हुन् ।
कुनै पनि नमूना जैविक हो वा होइन भनेर यस विधिले ९० प्रतिशतसम्म सही नतिजा दिने वैज्ञानिकहरूको दाबी छ । हालै विकास गरिएको यस विधिमार्फत मङ्गल ग्रहको माटो परीक्षण गर्न सकिने वैज्ञानिकहरूले बताएका छन् ।
यसका लागि नासाको मार्स क्युराेसिटी रोभरको स्याम्पल एनालिसिस एट मार्स (एसएएम) उपकरणले सङ्कलन गरेको मङ्गल ग्रहको माटो प्रयोग गरिने उनीहरूले भनाइ छ ।
त्यस्तै यस विधिले नमूनाहरूलाई ‘जीवित’ र ‘जीवाश्म’मा वर्गीकरण गर्ने छ । यसले गर्दा नमूना कहिले को हो भनेर पनि समय थाहा पाइने वैज्ञानिकले जनाएका छन् ।
यसअघिका विधिहरूले जीवको अणुहरूमा केही क्षति पुगे नतिजा दिन सक्थेनन् । तर यो नयाँ विधिले भने यदि त्यस्तो अवस्था आए काम गर्न सक्ने दाबी गरिएको छ । यहीकारण अन्तरिक्षमा पठाइने अन्तरिक्ष यान, ल्यान्डर र रोभरहरूमार्फत जीवनका संकेत पत्ता लगाउन नयाँ विधि महत्त्वपूर्ण हुने वैज्ञानिकहरूको दाबी छ ।
वैज्ञानिकहरूले यो विधि विकास गर्न जैविक तथा अजैविक वस्तुका १३४ नमूनाहरूको डेटा प्रयोग गरेर एआईलाई प्रशिक्षण गरेका थिए । यस विधि अन्य ग्रहबाहेक पृथ्वीमा नै पाइने प्राचीन चट्टानहरूको रहस्य पत्ता लगाउन पनि उपयोगी हुने वैज्ञानिकहरूको भनाइ छ ।