“नेपाल आफैंमा स्वर्ग हो। यो देखाउने हो, बेच्ने होइन।”

१७ असार २०८२ ॥

नेपालको पर्यटन प्रवर्द्धनको अभियानलाई नयाँ उचाइमा पु-याउँदै, भोजपुरका एक १९ वर्षीय युवाले यस्तो साहसिक यात्रा थालेका छन्, जुन कल्पना गर्न पनि मुस्किल पर्छ। कुनै आर्थिक सहयोग बिना, खाली हात सबै ७७ जिल्लाको यात्रा गर्दै, नेपाललाई विश्व सामु चिनाउने कार्यमा लागेका छन् — उनी हुन् प्रदीप राई।

रामप्रसाद राई गाउँपालिका–७, भोजपुर निवासी प्रदीपले “ट्राभल डकुमेन्ट्री अफ नेपाल” नामक परियोजना सुरू गरेका छन्। सामाजिक सञ्जालमा “Mundum Temke” नामले परिचित उनी हाल देशभरि चर्चामा छन्। यो यात्रा उनी केवल घुमफिरको लागि गरिरहेका होइनन्, नेपालको सौन्दर्य, संस्कृति, पाहुना सत्कार र राष्ट्रिय एकता संसारलाई देखाउनको लागि गरिरहेका छन्।

कुनै टिकट, गाडी, होटल वा लगानी बिना, उनी हिँडेरै, कहिले ट्रक चढेर, कहिले साइकल पछाडि बसेर, स्थानीयको साथ र माया लिएर यात्रा गरिरहेका छन्। साथमा एउटा झोला, मोबाइल फोन र आँट मात्र छ।

“नेपालको सुन्दरता हिमाल र काठमाडौँमा मात्र छैन,” प्रदीप भन्छन्, “७७ वटै जिल्लामा छुट्टाछुट्टै कथा छन्, र म ती कथालाई संसारसामु देखाउन चाहन्छु।”

उनी जहाँ पुग्छन्, त्यहाँको दृश्य, संस्कृति, गीत–सङ्गीत, स्थानीय मानिसहरूको अतिथिसत्कारलाई मोबाइलमार्फत भिडियोमा उतार्छन्। सामाजिक सञ्जालमा उनले दैनिक अपडेट, भ्लग र मन छुने किस्सा साझा गर्दै आएका छन्, जसले देश–विदेशका हजारौं दर्शकहरूलाई छोएको छ।

यो पनि पढ्नुहोस

Main Course of Indian Curry House

SHAA को नतिजा प्रकाशित

“Mundum Temke” नामबाट युटुब, फेसबुक, टिकटक र इन्स्टाग्राममा उनका भिडियोहरू भाइरल भइरहेका छन्। उनका भिडियोहरू हेर्दा यस्तो लाग्छ — यो यात्रा केवल शारीरिक यात्रामात्र होइन, भावनात्मक र आत्मिक यात्रासमेत हो।

धेरै जिल्लाहरूमा उनी स्थानीय क्लब, युवा समूह वा साधारण नागरिकको घरमै बसेर रात कटाउँछन्। कतै भात र गुन्द्रुकको खान पाउँछन्, कतै गर्मीमा खोल्सामा नुहाउँछन्। कहिले कठिनाई पनि भोग्नुपर्छ — भारी वर्षा, कठोर मौसम, थकाई, तर उनी थाक्दैनन्।

देशभरका युवाहरू, पत्रकारहरू, र पर्यटन क्षेत्रका व्यक्तिहरू अहिले उनको समर्थनमा उभिन थालेका छन्। केही जिल्ला प्रशासन र स्थानीय तहहरूले समेत उनको अभियानको प्रशंसा गरेका छन्।

प्रदीपको अन्तिम लक्ष्य भनेको ७७ वटै जिल्लाको यात्रा सकेपछि, सम्पूर्ण यात्रालाई वृत्तचित्रको रूपमा प्रस्तुत गर्नु हो, जसले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नेछ।

उनको एउटा चर्चित भनाइ अहिले हजारौं नेपाली युवाको मनमा गुञ्जिरहेको छ:

“नेपाल आफैँमा स्वर्ग हो। यो देखाउने हो, बेच्ने होइन।”

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...