मोरङको रङ्गेलीमा आगलागीः १९ घर जले, २५ परिवार विस्थापित

मोरङको रङ्गेली–३ स्थित बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेको इलाका प्रहरी प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।
शनिवार दिउँसो २ः३० बजेतिर शुरू भएको आगलागी नियन्त्रणमा आइसकेको प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धि चौलागााईँले जानकारी दिए । बाक्लो बस्ती रहेकाले आगलागीका कारण धेरै घरमा क्षति पुगेको उनको भनाइ छ ।१९ घरधुरी २५ परिवार आगलागीबाट विस्थापित भएको रङ्गेली नगरपालिका उपप्रमुख गोमा पराजुलीले बताइन् । विस्थापित परिवारलाई स्थानीय सरकारले राहत उपलब्ध गराउन थालिसकेको उपप्रमुख पराजुलीले जनाइन् ।

कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिका र विराटनगर महानगरका बारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा करिब तीन घण्टापछि आगो निभाउने काम भएको छ ।
घटनाबाट भएको क्षतिको विवरण भने आइ नसकेको उपप्रमुख पराजुलीले बताइन् ।

Comments (0)
Add Comment