रेवती रमण थापाको प्रेरणादायी कृषि अभियन्ता

प्रेरणादायी कृषि अभियन्ता एवम् समाजसेवी रेवती रमण थापाको जीवन यात्रा

KOREA 3 JULY 2025

रेवती रमण थापा, एक नाम जो कृषि, साहित्य, सामाजिक चेतना र देशप्रेमको अद्भुत संगमका रूपमा चिनिन्छ। उहाँको जन्म २०३१ साल भाद्र १७ गते भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका–७ मा पिता कर्णबहादुर थापा र आमा शुभद्रा थापाको कोखबाट भएको हो।

उहाँको बाल्यकाल ग्रामीण परिवेशमै बित्यो। जीवनका आरम्भिक दिनहरू सङ्घर्ष र जिम्मेवारीले भरिएका थिए। बाल्यकालदेखि नै साहित्य र संस्कृति प्रतिको गहिरो रुचिले उहाँलाई “मुन्द्युम लीम सांस्कृतिक मण्डली” जस्ता महत्वपूर्ण संस्थासम्म पुर्यायो। त्यहाँ प्रेम राई, तिलक राई, चन्द्रकुमार राई (सी.के.), राजकुमार राईजस्ता वरिष्ठ कलाकारहरूसँग सहकार्य गर्दै नाटक, गीत, कविता, तथा साहित्यिक कार्यक्रमहरूमा सक्रियता जनाउनु भयो। उहाँ आफैँले लेखेका थुप्रै नाटकहरू स्थानीय स्तरमा प्रदर्शन भइसकेका छन्।

२०४७ सालमा भोजपुरमा आयोजित प्रजातान्त्रिक राष्ट्रिय युवासंघद्वारा आयोजित कविता गोष्ठीमा प्रथम स्थान प्राप्त गर्नु उहाँको साहित्यिक क्षमताको प्रमाण हो। यस्तै, उहाँले भोजपुरका विभिन्न स्थानहरूमा “सितोरियो कराँते” को विस्तार गर्दै बासिखोरा सिंहेश्वरी माध्यमिक विद्यालयमा शिक्षक तथा कराँते प्रशिक्षकको भूमिका समेत निर्वाह गर्नुभयो।

करिब ४–५ वर्ष भारतको मेघालयमा बस्दाको अनुभव उहाँका लागि अत्यन्त शिक्षाप्रद रह्यो। नेपालीहरू भोग्ने पीडा, शोषण र दु:ख–कष्टहरूलाई उहाँले नजिकबाट महसुस गर्नुभयो।

पछि उहाँ दक्षिण कोरिया पुग्नुभयो जहाँ १० वर्षसम्म पानीजहाज निर्माण कम्पनीमा अत्यन्तै जिम्मेवार, भरपर्दो र इमान्दार कामदारको रूपमा परिचित हुनु भयो। कम्पनीका कोरियन मालिकले राम्रो तलब, सुविधा र दीर्घकालीन स्थायित्वको प्रस्ताव गरे पनि उहाँले मातृभूमिको मायालाई प्राथमिकता दिँदै नेपाल फर्किने निर्णय लिनुभयो।

नेपाल फर्केपछि उहाँ तत्कालीन १ नम्बर प्रदेश (हालको कोशी प्रदेश)का पहिलो मुख्यमन्त्री शेरधन राईको स्वकीय सचिवको रूपमा २० महिनासम्म कार्यरत रहनुभयो। उक्त अवधिमा उहाँले प्रशासनिक क्षमता, इमान्दारी र सहयोगी व्यवहारका कारण धेरैको विश्वास जित्न सफल हुनुभयो।

विदेशमा कमाएको पैसाले मोरङको बिराटचोकमा घर र जग्गा किनिसक्दा पनि ९३ वर्षीय बुवाको स्वास्थ्य र आफ्नै जन्मभूमिको मोहले उहाँ फेरि भोजपुर फर्किनुभयो। गाउँ आइपुग्दा वहाँले देख्नुभयो—जमिन बाँझो थियो, सिँचाइको सुविधा थिएन, बाँदरको आतंक थियो, मान्छेहरू गाउँ छोड्दै थिए। त्यसैले सदरमुकाम नजिकको टक्सारमा जग्गा भाडामा लिएर वहाँले खोर्सानी खेती सुरु गर्नुभयो। साथै, श्रीखण्ड, रक्तचन्दन र अगरउड जस्ता बहुमूल्य वनस्पतिको नर्सरी सञ्चालन गरी बाँझो जमिनमा हरियाली फर्काउने सपना बुन्दै हुनुहुन्छ।

टक्सारजस्तो ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्र आज उजाड बन्दै गएको अवस्थामा उहाँले सामुदायिक होमस्टे, सरसफाइ, बृक्षारोपण, पानी स्रोत संरक्षण जस्ता अभियान सञ्चालन गर्ने प्रयास गरिरहनु भएको छ। तर, दुर्भाग्यवश, राज्य वा समाजका जिम्मेवार निकायहरूबाट उचित सुनुवाइ भएको छैन।

उहाँको धारणा छ—नेपालजस्तो कृषिप्रधान देशमा कृषिलाई आधुनिक प्रविधि, उन्नत बीउ, यान्त्रीकरण, बजार व्यवस्थापन, र कृषकको सम्मानबिना देशको समृद्धि असम्भव छ। तर, वास्तविक कृषकहरू राज्यका योजनाबाट अनभिज्ञ छन्। अनुदान र सुविधाहरू पहुँचवालाहरूका लागि सीमित छन्। राज्यको बेवास्ताका कारण युवाहरू बिदेशिन बाध्य छन्, गाउँ रित्तिँदै छन्।

“एकमुठा साग किन्न एक झोला पैसा चाहिने दिन नआओस्” भन्ने चिन्ता बोकेका रेवती रमन थापा नेतृत्वको भाषणमा होइन, व्यवहारमा परिवर्तनको खाँचो देख्नुहुन्छ। उहाँजस्ता यथार्थवादी, देशप्रेमी र निष्ठावान नागरिकहरूको बाटो समात्ने हो भने मात्र समृद्ध नेपाल निर्माण सम्भव हुनेछ। 

Comments (0)
Add Comment