एआई प्रयोग गरी एलियन खोज्दै वैज्ञानिक

पृथ्वीभन्दा बाहिर अन्य ग्रहका जीव जन्तुहरूबारे अध्ययन गर्न वैज्ञानिकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विधि तयार पारेका छन् ।​एस्ट्रोबायोलोजी अर्थात् अन्य ग्रहमा पाइने जीवनको खोजमा आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी वैज्ञानिकहरूले यो नयाँ विधि विकास गरेका हुन् ।

 

कुनै पनि नमूना जैविक हो वा होइन भनेर यस विधिले ९० प्रतिशतसम्म सही नतिजा दिने वैज्ञानिकहरूको दाबी छ । हालै विकास गरिएको यस विधिमार्फत मङ्गल ग्रहको माटो परीक्षण गर्न सकिने वैज्ञानिकहरूले बताएका छन् ।

यसका लागि नासाको मार्स क्युराेसिटी रोभरको स्याम्पल एनालिसिस एट मार्स (एसएएम) उपकरणले सङ्कलन गरेको मङ्गल ग्रहको माटो प्रयोग गरिने उनीहरूले भनाइ छ ।

त्यस्तै यस विधिले नमूनाहरूलाई ‘जीवित’ र ‘जीवाश्म’मा वर्गीकरण गर्ने छ । यसले गर्दा नमूना कहिले को हो भनेर पनि समय थाहा पाइने वैज्ञानिकले जनाएका छन् ।

यसअघिका विधिहरूले जीवको अणुहरूमा केही क्षति पुगे नतिजा दिन सक्थेनन् । तर यो नयाँ विधिले भने यदि त्यस्तो अवस्था आए काम गर्न सक्ने दाबी गरिएको छ । यहीकारण अन्तरिक्षमा पठाइने अन्तरिक्ष यान, ल्यान्डर र रोभरहरूमार्फत जीवनका संकेत पत्ता लगाउन नयाँ विधि महत्त्वपूर्ण हुने वैज्ञानिकहरूको दाबी छ ।

वैज्ञानिकहरूले यो विधि विकास गर्न जैविक तथा अजैविक वस्तुका १३४ नमूनाहरूको डेटा प्रयोग गरेर एआईलाई प्रशिक्षण गरेका थिए । यस विधि अन्य ग्रहबाहेक पृथ्वीमा नै पाइने प्राचीन चट्टानहरूको रहस्य पत्ता लगाउन पनि उपयोगी हुने वैज्ञानिकहरूको भनाइ छ ।

Comments (0)
Add Comment