रुम्जाटार पुगेर दयाहाङले थाले ‘डिग्री माइला’को छायांकन

 अभिनेता दयाहाङ राईले फिल्म ‘डिग्री माइला’को छायांकन सेट ‘ज्वाइन’ गरेका छन् । शुक्रबारदेखि छायांकन सुरु भएको फिल्मको सेटमा मंगलबार दयाहाङ पुगेका हुन् ।

ओखलढुंगाको रुम्जाटारमा फिल्म छायांकन भइरहेको छ । मंगलबार राति दयाहाङको भागका दृश्य छायांकन भएको निर्देशक रामबाबु गुरुङले जानकारी दिए । आँचल शर्मा र बुद्धि तामाङ पहिलो दिनदेखि नै छायांकनमा छन् ।

पहिलो चरणको छायांकन १५ दिन चल्नेछ । त्यसपछि चिसो मौसमको खिच्नुपर्ने भएकाले मंसिरदेखि मात्र दोस्रो चरण सुरु हुनेछ । यो फिल्मलाई लिएर दर्शकमाझ प्रतीक्षा किन छ भने दयाहाङकै चर्चित नाटकमाथि फिल्म आधारित छ । यो नाटकलाई मण्डलामा तीन पटक मञ्चन गरिएको थियो ।

वैशाख १ गते रिलिजको योजना रहेको फिल्ममा अधिकांश कलाकार ‘कबड्डी’ फिल्मकै छन् । जसमा माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, प्रकाश घिमिरे लगायत छन् । यो कमेडी फिल्मले ‘डिग्री माइला’ नामक चरित्रलाई पछ्याउँछ, जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर ऊ पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन ।

आदर्शवादी लाग्ने यो चरित्रले पछिल्लो छिमलका शैक्षिक बेरोजगारलाई व्यंग्य गर्छ । डिग्री माइला चरित्रमार्फत निर्देशकले मुलुकको राजनीतिक, सामाजिक र युवापुस्ताको अवस्थालाई चित्रण गर्ने प्रयास गर्नेछन् ।

बाँसुरी फिल्म्सको ब्यानरमा फिल्म निर्माण भइरहेको हो । आगामी वर्ष ‘कबड्डी ५’ निर्माणअघि रामबाबुले ‘डिग्री माइला’लाई प्रदर्शन गर्नेछन् ।

Comments (0)
Add Comment