चितवनका दुई गैंडा पुष्पा र अञ्जली कोशी टप्पुमा लगिँदै

चितवनका दुई गैंडा पुष्पा र अञ्जली कोशी टप्पुमा लगिँदै

Shares
 सुवास पण्डित
 २०८० असोज ८ गते १७:१५
चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा पुष्पा र अञ्जली ।

८ असोज, चितवन। चितवन राष्ट्रिय निकुञ्जले दुईवटा पोथी गैंडा पुष्पा र अञ्जलीलाई मंगलबार कोशी टप्पु वन्यजन्तु आरक्ष पठाउने भएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मंगलबार दिउँसो २ बजेतिर अलग अलग खोरमा राखेर पुष्पा र अञ्जलीलाई कोशीका लागि पठाइने छ । ‘यहाँ विदाइको कुनै औपचारिक कार्यक्रम हुँदैन, कोशीमा स्वागतको तयारी कोशी आरक्षले गरिरहेको छ’ सूचना अधिकारी तिवारीले भने, ‘अहिले लगेर इन्क्लोजरमा राख्ने हो । पछि संख्या बढेपछि आरक्षमा छाड्ने होला ।’

कोशी टप्पुमा गैंडाका लागि वेटल्याण्ड र ग्रासल्याण्ड राम्रो भएको कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख रमेश यादवको दावी छ । पुष्पा र अञ्जलीलाई राख्नका लागि १६ फिट अग्लो, ८५ फिट लामो इन्क्लोजर बनाइएको छ । त्यहाँ पानी र घाँसे मैदानको समेत व्यवस्थापन गरिएको आरक्ष प्रमुख यादव बताउँछन् ।

सुरक्षासहितको सेक्यूरिटी पोष्टहरु पनि बनाइएको उनको भनाइ छ । ५०७ मिटरको सोलार फेन्सिङ पछिका लागि तयार गरिएको छ। त्यहाँ गैंडा हेर्नका लागि भ्यू पोइन्टहरूसमेत बनाइने कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख यादवले बताए ।

समस्या पन्छाउन पुष्पा र अञ्जलीलाई रोजियो

पुष्पा र अञ्जली दुवै आमाविहीन भएर टुहुरो बनेका गैंडाका बच्चाहरु हुन् । २०७६ पुस ५ गते करिब २ महिनाको पुष्पा नवलपुरको तमासपुरमा हिलोको दलदलमा भाँसिएको अवस्थामा भेटिएको थियो भने २०७७ को गैंडा गणनाको क्रममा चैत १४ गते निकुञ्जको नवलपुर दिव्यपुरीको क्षेत्रबाट १ महिनाको उमेरमा अञ्जलीको उद्दार गरिएको थियो ।

सानो छँदा अञ्जली ।

दुवै गैंडाका बच्चालाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा हुर्काइएका हुन् । मानिसको माया र ममतामा हुर्किएका यी दुवै मानिस निकै मन पराउँछन् र आशा पनि गर्छन् । सौराहा क्षेत्रमा सँगसँगै डुल्ने र हिँड्ने गरेपछि निकुञ्जले गत वैशाख ३१ गते दुवैलाई निकुञ्जको लामिताल क्षेत्रमा छाड्यो । कहिले निकुञ्जको कसरा कार्यालय क्षेत्र वरपर त कहिले पटिहानी क्षेत्रतिर जोडी बाँधेर हिँड्ने गर्छन् पुष्पा र अञ्जली ।

बस्तीमा पुगेपछि गएर भित्र ल्याउनुपर्ने बाध्यता थियो, निकुञ्जलाई । कोशी टप्पुमा पठाउने गैंडाका रुपमा पुष्पा र अञ्जलीलाई छान्नुको कारण उनीहरु बस्तीमा बढी गइरहने र पठाउन पनि सजिलो हुने विश्वास निकुञ्जले लिएको सूचना अधिकारी गणेश तिवारी बताउँछन् ।

संरक्षणकर्मीको प्रश्न : पोथी मात्रै पठाएर वंश विस्तार हुन्छ ?

पुष्पा र अञ्जलीलाई कोशीमा पठाउने कामको संरक्षणकर्मीहरुले विरोध गरेका छन् । पर्याप्त अध्ययन र राम्रो व्यवस्थापनको ग्यारेन्टी नभइकन गैंडा पठाउने काम गलत भएको उनीहरूको आरोप छ । ‘चीनमा दुई वटा गैंडा उपहार स्वरुप दिइयो, तर ती दुवै मरे, हामीले अर्ना ल्यायौं जोगाउन सकेनौं’ निकुञ्जका एक पूर्व संरक्षण अधिकृतले भने, ‘अहिले निकुञ्ज र यस आसपासको खुला क्षेत्रमा बसिरहेका गैंडालाई खोरमा थुन्न किन पठाउन लागेको ?’

२०७३ सालमा अर्नाको वंश विस्तारका लागि भन्दै १२ वटा अर्ना कोशी टप्पुबाट चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको थियो ।  सदर चिडियाखानाबाट ल्याइएका ३ वटा अर्नासमेत थपेर पुरानो पदमपुर क्षेत्रको इन्क्लोजरमा राखिएका  थिए । तर, ती अर्ना कुनै बाघले खायो, कुनै पानीमा बगेर मरे, कुनै रोगले मरे ।

अघिल्लो बर्ष साउन ३० गते निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा इन्क्लोजर भित्र राखिएका ३ वटा पोथी अर्नालाई भित्रै पसेर बाघले आक्रमण गरेपछि अर्ना मासिएका थिए । मासिएका अर्नाको पैंचो तिर्न निकुञ्जमा हुर्किरहेका पुष्पा र अञ्जली (दुवै पोथी गैंडा) कोशी टप्पुको इन्क्लोजरमा राख्ने गरी पठाउन लागिएको हो ।

२०७३ मा कोसीबाट १२ वटा अर्ना निकुञ्जमा ल्याउँदा नै चितवनबाट ५ वटा गैंडा कोसीलाई दिने प्रतिवद्धता जनाइएको थियो।

कोशीमा गैंडाका लागि सुरक्षा चुनौती रहेको ती संरक्षण अधिकृतको भनाइ छ। एकातिर बाढी, अर्कोतिर पोचिङको खतरा हुन सक्ने उनी बताउँछन् । भारतसँग खुला सीमाना भएका कारण भविष्यमा पनि गैंडा जोखिममा पर्ने उनको दाबी छ ।

‘दुई वटा प्रजननका लागि योग्य बन्दै गरेका पोथी गैंडा पठाएर वंश विस्तार गर्न खोजेको हो कि वंश विस्तार नहोस् भनेर पठाउन खोजेको हो उद्देश्य माथि नै प्रश्न चिह्न खडा भयो’ ती पूर्व संरक्षण अधिकृत भन्छन्, ‘लहडका भरमा काम गर्दा यसले संरक्षणभन्दा पनि बढी क्षति गर्छ ।’

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी पुष्पा र अञ्जली प्रजनन्का लागि योग्य भएपछि चिडियाखाना वा चितवनबाट नै भाले गैंडा पठाइने बताउँछन् । पोथी गैंडा ४ वर्ष र भाले गैंडा ६ वर्षका भएपछि प्रजननका लागि योग्य मानिन्छन् ।

सानो हुँदा पुष्पा

अहिले पुष्पा ३ वर्ष ८ महिना र अञ्जली २ वर्ष ५ महिनाका भए । निकुञ्जका पूर्व सूचना अधिकारी नुरेन्द्र अर्यालले मानिसले हुर्काएका गैंडाका बच्चाहरुको स्थानान्तरणको नतिजा सुखद नरहेको बताउँछन् ।

कोशीमा अर्ना र भैंसी सरावरी भएको ठाउँमा गैंडा छाड्दा कस्तो नतिजा आउला भनेर सोच्नुपर्ने उनको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रित यादवले अहिले गैंडा सार्न नहुने बताउँदै आएका छन् । उनले बासस्थान, वातावरण, सुरक्षा सबै कुराको अध्ययन गरेर मात्रै सार्नुपर्ने बताएका छन् ।

विज्ञ तथा अनुसन्धानकर्ता डा. बाबुराम लामिछाने कोशीसहितको क्षेत्रमा धेरै बर्ष अगाडि गैंडा भएको अनुसन्धानबाट देखिएको बताउँछन् । ‘ह्वाविट्याटका हिसाबले कोशी त्यति नराम्रो छैन तर त्यहाँका तीनवटा थ्रेटहरु छन्’, लामिछाने भन्छन्, ‘मानिसहरुको सघन उपस्थिति, बाढी र खुला सिमानाका कारण पोचिङको डर  छ।’

उनले समुदायस्तरलाई समेत सचेत गराउने र गैंडाको महत्व देखाउने गरी जनचेतनाका कामहरु कोशीमा हुनुपर्ने बताए । गैंडा लैजाने सम्बन्धी प्रस्ताव पहिल्यै तयार भए पनि अहिलेका वनमन्त्रीको विशेष जोडमा पुष्पा र अञ्जलीलाई सार्न लागिएको विभागका एक कर्मचारीले बताए ।

स्थानान्तरण तितो विगत

निकुञ्ज विभागले एक ठाउँका वन्यजन्तु देशभित्र नै वंश जोगाउन वा विस्तार गर्न भनेर स्थानान्तरण गर्दै आएको छ भने कतिपय जनावरहरु उपहारका रुपमा विदेशीलाई दिने गरिएको छ । तर, यी दुवै स्थानान्तरणहरु प्रायः असफल रहेको पाइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी गैंडा स्थानान्तरण गरियो तर, त्यहाँको नतिजा त्यति सुखद छैन । सन् १९८६ देखि यहाँ १०२ गैंडा लगियो तर अहिले ३८ मात्रै बाँकी छन् । एकैपटक २५ वटासम्म गैंडा लगियो । यस्तै शुक्लाफाँटामा समेत उस्तै छ । २०५८ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार र २०७३ सालमा १० वटा गरी १४ गैंडा स्थानान्तरण भयो तर, अहिले जम्मा १७ गैंडा छन् ।

सन् २००५ को गैंडा गणनामा बर्दियामा ६७ रहेको गैंडा सन् २००८ मा २२ मा झर्‍यो । शुक्लाफाँटाबाट गैंडा दिएर बारसिङे ४ वटा ल्याएर चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरको इन्क्लोजरमा राखियो, कुनै बाघले खायो, कुनै मरे ।

२६ वटा गैंडा विभिन्न देशलाई उपहार भनेर पठाइयो । अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा ६ वटा गैंडा पठाइएको छ । यस्तै, चीन, बेलायत, अष्ट्रिया, जर्मनी, सिंगापुर, बंगलादेशलगायतका देशमा गैंडा उपहार स्वरुप पठाइएको छ ।

Comments (0)
Add Comment