५० करोडको जग्गा किर्ते गरी ठगी गर्ने पक्राउ

काठमाडौं। पर्साको वीरगञ्ज महानगरपालिका–५ का कमलादेवी राजभण्डारीको नाममा रहेको घरसहितको ५ कठ्ठा १५ धुर जग्गा किर्ते कागज बनाई विक्री गर्ने एक जना पक्राउ परेका छन् ।

झण्डै रू. ५० करोड मूल्य बराबरको सो जग्गा कीर्ते गरी विक्री गर्ने ललितपुर महानगरपालिका–१३ कुसुन्तीका ३३ वर्षीय केवलप्रताप जबरा पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका अनुसार ति व्यक्तिले आफ्नो नागरिकता समेत नक्क्ली बनाई किर्ते कागजातका आधारमा अर्काको जग्गा हाता पारेर तेस्रो व्यक्तिलाई बिक्री गरेको पाईएको हो ।

व्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाका अनुसार उनले मुकेश राजभण्डारी नामको नक्कली नागरिकता बनाएर किर्ते गरेको खुलेको छ । मालपोत कार्यालयका कर्मचारीको समेत मिलेमतोमा जग्गा धनी तथा निजको हकवाला समेतको हक मारी अर्काको जग्गा किर्ते कागजात बनाई गत फागुन १९ गते आफ्नो नाममा पास गरेका थिए ।

त्यसपछि उक्त जग्गा पर्सा कै गिरधारी लाल अग्रवाललाई बिक्री गरी रू. ५० लाख बैना लिएको फेला परेको छ । त्यसपछि घटना बाहिर आएको हो ।

स्थानीय राजीव राजभण्डारीले लिखत र ठगी सम्बन्धी मुद्दामा जाहेरी दरखास्त दिएपछि व्यूरोले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा केवलप्रताप जबराले आफ्नो नाम मुकेशराज भण्डारी राखेर किर्ते गरेको पाइएको हो । उनले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट किर्ते नागरिकता समेत बनाएको पाइएको छ ।

खोजीका क्रममा उनलाई काठमाडौँको रातोपुलस्थित डेराबाट आइतबार पक्राउ गरिएको हो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको व्यूरोका प्रमुख थापाले जानकारी दिए ।

५० करोडको जग्गा किर्ते
Comments (0)
Add Comment