कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्नु नै सरकारको प्रमुख उद्देश्य : मुख्यमन्त्री राई

उर्लाबारी । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्नु नै सरकारको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।
आज उर्लाबारी–७ स्थित नमूना बाल गृहमा नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकार बढी केन्द्रित भएको छ, कोरोनालाई परास्त गरेरै छोड्ने छौँ ।’ सरकार सुखी जनता समृद्ध नेपाल निर्माणको अभियानमा जुटिरहेको अवस्थामा विश्वभरी फैलिएको कोरोना भाइरस चुनौति बनेको उहाँको भनाई छ । प्रदेश सरकार जनताका हरेक विषयलाई समाधान गर्ने तरिकाले अघि बढिरहेको उल्लेख गर्दै उहाँले जनमुखी काम गर्ने बताउनुभयो । उहाँले प्रदेशकै नमूना बाल गृहको रुपमा स्थापना बन्दै गएको उक्त गृह सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । अहिलेसम्म राज्यबाट खासै सहयोग नपाएपनि उदाहरणीय रुपमा सञ्चालन गरेको पाएको उल्लेख गर्दै उहाँले प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा मोरङ क्षेत्र नं. १ का सांसद घनश्याम खतिवडा र प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) लगायत बोल्दै बाल गृहको विकास र सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

मुख्यमन्त्री राई
Comments (0)
Add Comment